बागमती प्रदेशमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ भाद्र ४, मंगलवार ०९:३६
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आज गाईजात्रा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

गत साउन ३२ गते शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार आज सार्वजनिक विदा दिएको सरकार प्रवक्ता एक आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार, आज प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहनेछ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने विश्वास छ ।