हेटौंडा–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

तु खबर संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १७:४४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही भदौ ७ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।

स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४८ वटा सुचकहरु पूर्ण रुपमा हासिल गरेको बताए ।

यस्तै, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८१ प्रतिशत र १ वटा सुचक ८० प्रतिशत नतिजा हासिल गरेको उनले बताए ।

उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष सत्यालले बताए ।

बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–१७ हेटौंडा नगरमा चौथो बालमैत्री वडा घोषणा हुनेछ । यसअघि हेटौंडा–८ र हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ भने हेटौंडा–७ बालमैत्री स्थानीय शासनयुक्त वडा भोलि घोषणा हुँदैछ ।