जनजागरण समाजद्वारा घाटदेबी निमाविलाई आर्थिक सहयोग
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर २, स्थित घाटदेबी निमावि विद्यालयलाई आर्थिक रकम सहयोग भएको छ ।
वर्खे विदामा समेत नियमित रुपमा बढाइरहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गर्न जनजागरण समाज, थाहा–२ ले आर्थिक रकम सहयोग गरेको हो ।
जनजनगरण समाजले शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालयलाई नगद ३४ हजार ८ सय ६० रुपैंया हस्तान्तरण गरेको हो । समाजले समाजका सदस्यहरुबाट संकलन गरेको उक्त रकम सहयोग गरेको समाजका सहसंयोजक माधव कार्कीले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको विदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए ।
उनले विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।
सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रति विद्यार्थी १५ रुपैंयाको दरले प्रत्येक वर्ष १ सय ८० दिन बराबरको रकम विद्यालयलाई उपलब्ध गराउने बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले उक्त रकम पर्याप्त नहुँदा समाजले गरेको आर्थिक सहयोगले खाजा व्यवस्थापनमा सहज हुने बताए ।
विद्यालयले वार्षिक २ सय २० भन्दा बढी दिन विद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा विद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।
रकम हस्तान्तरण कार्यक्रम थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानको प्रमुख आतिथ्यतामा भएको हो । उनले सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको मेहनत महत्वपूर्ण भएको बताए ।
उनले विद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताए । समाजको सकारात्मक विकासकालागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानले बताए ।
कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
विद्यालयमा बालविकास केन्द्रसहित कक्षा ८ सम्म १ सय २८ जना विद्यार्थी अध्ययनरत छन् ।
थाहा नगरपालिकाले पालिकाका सामुदायिक विद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म वर्खे विदा निर्धारण गरेको थियो ।
