गैरसरकारी संस्थाहरुले गरे वडाध्यक्ष खनाललाई सम्मान

तु खबर संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १३:३२

मकवानपुर । मनहरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सामाजिक क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरुले मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनाललाई सम्मान गरेका छन् ।

५२ वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण भएका वडाध्यक्ष खनाललाई संयुक्त रुपमा सम्मान गरिएको हो । खनाल हालै प्रकाशित कक्षा १२ को नतिजामा २.४१ जिपिएसहित उतीर्ण भएका हुन् ।

कार्यक्रममा हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाले पढाइलाई उमेरले नछेक्ने रहेछ भन्ने कुरा वडाध्यक्षज्यूले पुष्टि गरिदिनुभएको भन्दै नयाँ युवा पुस्तालाई पनि अध्ययनको महत्व बुझेर अध्ययनलाई निरन्तरता दिन सुझाव दिइन् ।

कार्यक्रममा हिमराइट्स, माइती नेपाल, मकवानपुर महिला समूह, एस्थर बेन्जामिन्स स्मृति सस्था, शान्ति फाउण्डेशन, वोमन एक्टलगायतका संस्थाका संयोजक तथा प्रतिनिधिले संयुक्त रुपमा वडाध्यक्ष खनाललाई खादा, माला दोसल्ला र सम्मानपत्रसहित  सम्मान गरेका हुन् ।

कार्यक्रममा मनहरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीलगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।