बागमतीमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान भोलिबाट सुरु हुने

तु खबर संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:१९

मकवानपुर । बागमती प्रदेश सरकारले भोलिबाट प्रदेशभर लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गर्ने भएको छ ।

लम्पी स्किन रोग न्यूनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भोलिदेखि श्रावण ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा यो अभियान सञ्चालन गर्न लागेको हो ।

यस वर्ष ७६ हजार २ सय ७५ वटा भ्याक्सिन लगाउने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा खोप अभियान मार्फत ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो ।

गाईंभैसीमा यस रोग पश्चात उच्च ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा र्गिखाहरु देखिने, जोर्नी र खुट्टाहरु सुन्निने र हिड्न गार्हो हुने, थुनेलो देखिने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने लगाएतका लक्षणहरु देखापर्ने हुन्छन् ।

वि.सं. २०७७ साल असारमा प्रथम पटक नेपालमा यो रोग प्रमाणित भएको र हालसम्म ७७ वटै जिल्लामा देखापरिसकेको छ ।
नेपालमा यस रोगले गर्दा ७५ अर्ब ४८ करोड सम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले यस रोगको नियन्त्रणबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै पूर्व तयारीका रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।