पहिरोमा पुरिएर बागलुङका ८ जनाको मृत्यु
पोखरा । बागलुङको बडिगाड गाउँपालिकाको छुट्टाछुट्टै वडामा गरी पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोमा परेर वडा नम्बर १० दर्लिमका ६ जना र वडा नम्बर ९ को बलघाँसका २ जनाको मृत्यु भएको हो ।
बडीगाड गाउँपालिका–१० मा घरगोठ बगाउँदा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोमा परेर संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् ।
यसैगरी, वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको पहिरोमा पुरिएको मृत्यु भएको छ ।
घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङ प्रहरीले जनाएको छ ।
दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
