हेटौंडामा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन
मकवानपुर । मकवानपुरको हेटौंडामा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित सात दिने फोटोग्राफी तालिम र कार्यशालाको आइतबार समापन गरिएको हो ।
कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षता एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै नेता थपलियाले स्थायीत्वको लागि वर्तमान गठबन्धन बनेको बताए । उनले स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने प्रतिबद्धता जनाउँदै वर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने बताए ।
कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, पत्रकार सुरेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिलगायतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा ७५ जनाले सहभागिता जनाएका थिए ।
