बागमतीमा विपद्का घटनामा परेर ८८ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा विपद्का विभिन्न घटनामा परेर ८८ जनाको मृत्यु भएको छ ।
प्रदेशमा गत आर्थिक वर्ष २०८०–०८१ मा बाढी, पहिरो, आगोलागी लगायत विभिन्न विपद्का घटनामा परेर ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाले जनाएको छ ।
सो अवधिमा आगलागी, वन डढेलो, पहिरो, वन्यजन्तु आक्रमण, भारी वर्षा, बाढी, चट्याङ, हावाहुरी, उच्च उचाइ (लेक लाग्ने), गैर प्राकृतिक विपद्, सर्पदंश, हिम पहिरो र भूकम्प गरी ८५६ वटा विपद्का घटना भएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।
उक्त घटनामा परेर ४३ जना बेपत्ता भएका छन् भने १८४ जना घाइते भएको सूचना अधिकारी कार्कीले बताइन् ।
उनले दिएको जानकारी अनुसार, वन्यजन्तु आक्रमणकामा परेर ६ जनाको मृत्यु र ३८ जना घाइते भएका छन् भने हिमपहिरोमा परेर ३ जना घाइते र आगलागीमा परेर २४ जनाको मृत्यु र ८७ जना घाइते भएका छन् ।
यस्तै, बाढीका घटनामा परेर ५ जनाको मृत्यु, २ जना बेपत्ता, २ जना घाइते भएका भने वन डढेलोमा परेर ४ जनाको मृत्यु र ६ जना घाइते भएको सूचना अधिकारी कार्कीले जानकारी दिइनन् ।
यसैगरी, पहिरोमा परेर ४२ जनाको मृत्यु, ४१ जना बेपत्ता, २३ जना घाइते भएका छन् भने भारी वर्षाका कारण ४ जना घाइते भएको र सर्पदंशका कारण प्रदेशमा २ जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
यस्तै, चट्याङका १४ वटा घटनामा एक जनाको मृत्यु, १२ जना घाइते भएका छन् भने हुरी बतासका १३ वटा घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य गैर प्राकृतिक प्रकोपमा परेर २ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
