‘किताब जात्रा’ को छैठौं संस्करण काठमाडौंमा हुने
काठमाडौं । ‘किताब जात्रा’ को छैठौं संस्करण आर्मी अफिसर्स क्लब, काठमाडौंमा हुने भएको छ । कार्यक्रम यही साउन १८ र १९ गते हुने भएको फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए ।
पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’ को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने अध्यक्ष अधिकारीले बताए ।
उनले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुने अध्यक्ष अधिकारीले बताए ।
फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार, जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि पनि हुनेछन् ।
जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुती रहने उनले बताए ।
लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने जनाइएको छ । साथै ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुती पनि रहनेछ ।
पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्ने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले बताए ।
किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ ।
जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
