पूर्वी नाकाबाट निर्यात भयो १९ अर्बको कृषिजन्य वस्तु
झापा । पूर्वी नाका काँकडभिट्टाबाट पछिल्लो एक वर्षको अवधिमा १९ अर्बको कृषिजन्य वस्तुत निर्यात भएको छ । उक्त नाकाबाट आर्थिक वर्ष २०८०-०८१ मा १९ अर्बको कृषिजन्य वस्तुत निर्यात भएको हो ।
निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत रहेको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
यस्तै, उक्त कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार, आर्थिक वर्ष २०८०-०८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।
आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले बताए ।
सो नाकाबाट उक्त अवधिमा जम्मा रु ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ ।
