आज संसद् दिवसः ६५ वर्षअघि बसेको थियो पहिलो बैठक
काठमाडौँ । पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिनलाई स्मरण गरी आज संसद् दिवस मनाइँदैछ ।
देशमा प्रजातन्त्र स्थापना भएपश्चात् २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक २०१६ असार १६ गते बसेको थियो । सोही दिनलाई स्मरण गरी असार १६ गते संसद् दिवसका रुपमा मनाउन थालिएको हो ।
मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।
पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो ।
उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।
