महासंघको भवनमा युनियनको ७ बुँदे मागसहितको व्यानर

तु खबर संवाददाता
२०८१ असार १५, शनिबार १७:५४

मकवानपुर । सदस्यता विवादको विषयलाई पूर्णरुपमा वेवास्ता गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएकोभन्दै नेपाल प्रेस युनियन मकवानपुरले आफ्नो ७ बुँदे माग अगाडि सारेको छ ।

युनियन मकवानपुरले महासंघको हेटौंडा–४ स्थित कार्यालयमा आफ्नो मागसहितको कालोव्यानर विरोधस्वरुप झुण्डाएको छ । महासंघको सदस्यताको विवादको विषयलाई टुंग्याएर मात्र निर्वाचन गर्नुपर्ने युनियन मकवानपुरको माग रहेको छ । युनियन जिल्ला अध्यक्ष सुबास विडारीको नेतृत्वमा महासंघमा पुगेको टोलीले महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन माग गरेको छ ।

‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत वेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत् निर्वाचन समिति गठन गर्न निर्देशन दिनु गलत हो ।’, उनले केन्द्रको हस्तक्षेपकारी निर्देशन अनुरुप मकवानपुर जिल्लामा गठन गरिएको गैरपत्रकार सदस्य रहेको निर्वाचन समिति तत्काल खारेज गर्न युनियन मकवानपुर जोडदार माग गरेका छन् ।

युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालयमा शुक्रबार राति सवा ११ बजे विभिन्न माग गर्दै तालाबन्दी गरेका थियो ।