हेटौंडामा टोल विकास संस्था स्थापनाको २५ औँ वर्षमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्था स्थापना भएको २४ वर्ष पूरा भएको छ । २०५६ साल असार १४ गते हेटौंडा– ८ मा श्रमिक टोल विकास संस्था स्थापना भई अघि बढेको टोल विकास संस्थाको यात्रा शुक्रबार २५ औँ वर्षमा प्रवेश गरेको छ ।
समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक एवम् वातावरणमैत्री दीगो विकास हासिल गर्ने उदेश्यका साथ हेटौंडामा टोल विकास संस्थाहरु स्थापना गरिएको थियो । हाल हेटौंडाका १९ वटा वडामा कूल ३७७ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् ।
नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउँदै समग्र टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न एवम् विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउँदै सचेत, समुन्नत र विकसित हेटौँडा बनाउने अभियानमा टोल विकास संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
टोल विकास संस्थाहरुबीच समन्वयकारी भूमिकाका लागि हेटौंडामा टोल विकास संस्था नगर समन्वय समिति छ । यसले टोल विकास संस्थाहरुको गठन, पुनःगठन, नविकरण तथा संस्थागत विकासका लागि अहोरात्र काम गरिरहेको छ । साथै टोल विकास संस्थाहरुलाई क्रियाशील बनाउने, गतिविधिमाथि अनुगमन गर्ने मात्रै नभई सामाजिक हित एवम् वातावरण संरक्षणको लागि रचनात्मक गतिविधि सञ्चालन गर्न निरन्तर प्रेरणा प्रदान गर्दै आइरहेको छ । नगर समन्वय समितिले उपमहानगरभित्रका १७ वटा वडामा वडा समन्वय समितिसमेत निर्माण गरिसकेको छ ।
हेटौंडामा टोल विकास संस्था स्थापनाको गौरवमय २५ औँ वर्षमा प्रवेश गर्दै गर्दा नगर समन्वय समितिले यो वर्षलाई रजत महोत्सव वर्ष २०८१ को रुपमा विभिन्न रचनात्मक क्रियाकलाप गरी मनाउने भएको छ ।
समितिका अध्यक्ष धुर्व अधिकारीले टोल विकास संस्था स्थापना र संरक्षकत्व प्रदान गर्ने हेटौंडा उपमहानगरपालिका लगायत सम्पूर्ण सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्था, अभियानमा निरन्तर लाग्नु हुने ३७७ वटै टोल विकास संस्थामा आवद्ध टोल विकासकर्मीहरु र आम नगरबासीहरुमा आभार व्यक्त गर्दै निरन्तर साथ सहयोगको अपेक्षा रहेको बताए ।
उनले आम नगरवासीसँगको समन्वयमा वन तथा वातावरणको संरक्षण गर्दैै टोल टोलमा सरसफाई अभियान सञ्चालन गर्ने, धुँवाधुलोरहित हेटौंडा, हराभरा हेटौंडाको अभियानलाई पूर्णता दिने, स्वच्छ हावा, सफा र शुद्ध पिउने पानीको प्रबन्ध मिलाउन सम्बन्धित सबै जिम्मेवार बनाउने, प्लाष्टिकमुक्त र प्रदुषणरहित सहर स्थापना गर्ने लगायतका विभिन्न वातावरणमैत्री योजनामा नगर समन्वय समितिलाई सबैले सघाउनुपर्ने बताए ।
अध्यक्ष अधिकारीले नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाकै एउटा अंग भएको भन्दै उममहानगरपालिका र सम्बन्धित वडा कार्यालयहरुले टोल विकास संस्थाका गतिविधिप्रति अपनत्व ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तहले टोल विकास संस्थाका गतिविधि हाम्रै लागि हो भन्ने सोच्नुपर्यो, नीति तथा कार्यक्रममा टोल विकास संस्थालाई नीतिगत रुपमा सबलिकरण गर्ने गरी समावेश गर्नुपर्यो । टोल विकास संस्थालाई मजबुद बनाउन सके सफा, हराभर, सुन्दर हेटौंडा बनाउन सकिन्छ भन्ने हामी सबैले बुझ्नुपर्छ ।’
साथै नगर समन्वय समतिले शुक्रबार २५ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा दिप प्रज्वलन कार्यक्रम आयोजना गरी शुभकामना साटासाट गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ मनकामना मन्दिर परिसरमा वृक्षारोपण र हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष नविन सिग्देल, ११ की वडा अध्यक्ष जुना दाहाल, वडा नम्बर ५ का जनप्रतिनिधि एवम् हेटौंडा उपमहानगरपालिका न्यायिक समिति सदस्य ज्ञानबहादुर थापालगायत टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी एवम् सदस्यहरु, वडा समन्वय समितिका र विभिन्न टोल विकास संस्थाका व्यक्तिहरु सहभागी थिए ।
