उपभोक्ता ठग्दै होटल प्रकाशः दुर्गन्धित भान्सा, डेट एक्सपाएर खाद्य सामग्री
मकवानपुर । हेटौंडा– १० स्थित होटल प्रकाशले वर्षौँदेखि थ्री स्टारको मान्यता रहेको भन्दै भ्रममा पारी उपभोक्तासँग सेवा सुविधा बापत मोटो रकम असुल गर्दै आएको रहस्य बाहिर आएको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिकाको बजार अनुगमन समितिलाई अनुगमनका क्रममा थ्री स्टारको मान्यताप्राप्त काजगपत्र देखाउन नसकेपछि होटलले उपभोक्तालाई भ्रममा पारी ठगी गर्दै आइरहेकोे रहस्य सतहमा आएको हो ।
सो होटलले थ्री स्टारको मान्यता प्राप्त भन्दै वर्षौँदेखि उपभोक्तासँग मोटो रकम असुल गरिरहेको थियो । तर, अनुगमन समितिले मान्यता प्राप्त कागजात देखाउन भनेपछि होटलको बदमासी छर्लङ्ग भएको छ ।
थ्री स्टारको मान्यता प्राप्त कागजात तीन दिनभित्र पेश गर्न समय दिइएको अनुगमन समितिका संयोजक सविन न्यौपानले बताए ।
‘होटलले वर्षौँदेखि थ्री स्टारको मान्यता छ भन्दै आम उपभोक्तालाई भ्रममा पारी सेवा सुविधाबापत् चर्को रेट लगाइरहेको रहेछ । हामीले मान्यता प्राप्त कागजपत्र देखाउन आग्रह गर्दा उहाँहरुले देखाउन सक्नुभएन, अनुगमन समितिले मान्यता प्राप्त कागजात पेश गर्न तीन दिनको समय दिएको छ ।’ उनले भने ।
होटल संचालकले भने आफुहरु थ्री स्टारको मान्यता लिने प्रक्रियामा रहेकोले थ्री स्टार होटल भनी प्रचार गरिएको स्वीकार गरेका छन् । मान्यता आइनसकेकोले आफुहरुले उपभोक्तासँग सेवा सुविधाबापत् चर्को शुल्क नलिएको होटलको दावी छ ।
त्यस्तै अनुगमनका क्रममा होटलको भान्सा निकै फोहोर अवस्थामा भेटियो । विभिन्न सभा, सम्मेलन हुने, हजारौँ उपभोक्ताले सेवा लिँदै आएको होटलको भान्सा निरीक्षण गर्दा अनुगमन टोलीले नाक थुन्नुपर्यो ।
‘भान्सामा फोहोरको दुर्गन्ध आइरहेको थियो । झिँगा भन्किरहेको थियो । होटलको नाम जति राम्रो छ, भान्सा उति नै फोहोर भेटियो ।’ उपमहानगरपालिकाकी खाद्य प्राविधिक एलिना न्यौपानेले भनिन् ।
भान्सामा म्याद गुज्रिएका (डेट एक्पाएर) खाद्यबस्तु प्रयोग भइरहेको समेत अनुगमन समितिले फेला पारेको छ । म्याद गुज्रिएका खाद्यसामग्रीको प्रयोग गरी होटलले उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर लापरबाही गरिरहेको फेला परेपछि अनुगमन समितिले सुधार गर्नको लागि १५ दिनको अल्टिमेटम दिएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
