हाँडीखोला स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा
मकवानपुर । मनहरी गाउँपालिका वडा नं ३ को हाँडीखोला स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा सुरु भएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाले चिकित्सकीय सेवाको सुरुआत गरेको हो । मनहरी अस्पतालमा मात्र भएको सेवा सुविधालाई दुर्गम गाउँको स्वास्थ्य चौकीबाट पनि प्रवाह गर्ने लक्ष्यका साथ स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।
साविक हाँडीखोला गाविसका मानिसहरुलाई लक्षित गरी गाउँपालिकाले साताको एक दिन एमविविएस डाक्टर सहितको सेवा सुरु गरेको छ । बिरामीको चापलाई मध्येनजर गरी आगामी दिनमा थप व्यवस्थित गर्दै दरबन्दी नै कायम हुने गरी नियमित डाक्टरको व्यवस्था गर्ने अध्यक्ष कालाखेतीको भनाई छ ।
गाउँपालिकाको १,२,३ र ४ नं वडाको बीचमा रहेको उक्त स्वास्थ्य चौकीबाट नियमित रुपमा दिशा, पिसाब तथा रगत जाँच लगायतको सेवाहरु प्रदान गरिँदै आएको ३ नं वडाअध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालले बताए ।
गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेपछि आगामी दिनमा स्वास्थ्य उपचारका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।
