तीन वटा संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार ०९:४५
file-photo

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ ।

सो बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्नेछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ ।

यसैगरी, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । सो बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवम् अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।