सकियो १८ दिने निःशुल्क समर स्टिम क्याम्प
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपालको अनुसन्धान तथा आविस्कार केन्द्रद्वारा हेटौंडामा आयोजित १८ दिने निःशुल्क समर स्टिम क्याम्प २०८१ आज समापन गरिएको छ ।
फाउण्डेशनले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्टीम क्याम्पको रुपमा विभिन्न ९ प्रकारको तालिम निशुल्क सञ्चालन गरेको हो ।
जसअन्तरगत विज्ञान प्रविधिसंग सम्बन्धित रोबटिक्स एण्ड अटोमेशन, वेव डेभलपमेन्ट, साइबर सेक्यूरेटी, आर्ट एण्ड पेन्टीङ, रकेट साइन्स एण्ड एनिमेशन, ड्रोन ओर्कशप इन्जिनियर, रिसर्च राइटिङ ओर्कशपलगायत विभिन्न विषयमा प्रशिक्षार्थीहरुलाई विषय विज्ञहरुले सहजिकरण गरेका थिए ।
समापन समारोहमा विद्यार्थीहरुले १८ दिनमा विज्ञान प्रविधिसँग सम्बन्धित ज्ञान तथा सिप हासिल गरी निर्माण गरेको विभिन्न सामग्रीहरु स्टल बनाएर प्रदर्शनीमा राखिएको थियो ।
सो सामग्री आज करिब १ हजार ५ सय भन्दा बढीले प्रत्येक्ष अवलोकन गरेको र अवलोकनकर्ताबाट रचनात्मक सुझाव आएको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए ।
उनले सानै उमेरदेखि बालबालिकाहरुलाई आफ्नो रुचीको क्षेत्र पत्ता लगाउन सहज होस् र पढाइलाई सिकाइमा रुपान्तरण गर्न मद्धत मिलोस् भन्ने उद्देश्यले उक्त क्याम्प आयोजना गरिएको बताए ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत १३५ जना बालबालिकाहरुलाई प्रोजेक्ट ओर्क, प्यानल डिस्कसन, सोसिएल क्याम्पेनिङ गराएर शिक्षण सिकाई कार्य सञ्चालन गरिएको थियो ।
यसअघि पनि फाउण्डेशनले विद्यालयमै पुगेर बालबालिकाहरुलाई विज्ञान प्रविधिसँग सम्बन्धित ज्ञान तथा सिप निशुल्क रुपमा प्रदान गर्दै आएको थियो ।



