जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १६:४४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार, जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली सार्वजनिक, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको लागि समय तोकिएको छ ।

यस्तै, सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्रमाथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी, जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ ।

केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकैपटक हुने जनाइएको छ ।