एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेबाट बैठक सुरु हुने जनाइएको छ ।
शनिबारबाट सुरू भएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज पुनः बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थियो भने बाँकी नेताहरूले आजको बैठकमा बोल्नेछन् ।
स्थायी कमिटी बैठक सकिएलगत्तै आजै साँझ पोलिटब्यूरो बैठक समेत आह्वान गरिएको छ । उक्त बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
