तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो ।
जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे नै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्ने गरी आह्वान गरिएको छ । बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तीय तथा प्रशासनिक सङ्घीयता, समितिले सङ्घीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरूबारे छलफल हुनेछ ।
