आज एकैदिन ७ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन सात वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । सो बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
यस्तै, बिहान ११ बजे नै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
त्यस्तै, दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा युएन सिइडिएडब्ल्यु कमिटीले नेपाल सरकारलाई जारी गरेको लिस्ट अफ इस्युज (विषय सूचि) मध्ये मानव बेचबिखन सम्बन्धी र लैङ्गिक हिंसा सम्बन्धी विषयमा छलफल हुनेछ ।
यसैगरी, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी, आज दिउँसो १ बजे नै सार्वजनिक लेखा समितिको बैठक पनि बस्नेछ । सो बैठकमा हुलाकी राजमार्ग सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो ३ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आह्वान गरिएको छ । सो बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति सम्बन्धमा, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
