हेटौंडा–३ का महिलाहरुलाई सवारी साधन प्रशिक्षण तालिम

तु खबर संवाददाता
२०८० चैत्र ८, बिहीबार ०८:३२

मकवानपुर । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटमा समावेश महिला लक्षित कार्यक्रममा सहभागी बन्दै सवारी चालकको प्रशिक्षण लिएका हेटौंडा–३ का केही महिलाहरु सवारी चालक बन्ने भएका छन् ।

महिलाहरुको आर्थिक पाटोमा सहयोग पुर्याउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश रहेको २ लाख रुपैयाँ बजेटबाट कार्यालयले वडामा रहेका १५ वटा टोलविकास सस्थाबाट छनौंटमा परेका १५ जना महिलालाई (४ चक्के) साना सवारी साधन चलाउने प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा सहभागी मध्ये एकले यातायात कार्यालय हेटौंडाले लिएको सवारी चालक अनुमती पत्र समेत प्राप्त गरेकी छन् ।

१५ लिने तालिममा सहभागि १५ जनामध्ये हेटौंडा–३ की दिक्षा ढकालले सवारी चालक अनुमति पत्रको परीक्षा पास गर्दै अनुमति पत्र प्राप्त गरेकी हुन् ।

तालिमको क्रममा दिएको परिक्षामा पास भएको भन्दै तालिम समापनमा ढकाललाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

बुधबार तालिमको समापन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले तालिम लिएर प्राप्त गरेको सिपलाई व्यवहारमा उतार्ने गरी काम गर्न सुझाब दिइन् । उनले सिपलाई सिरानीमा राख्ने होइन व्यवसायिक हुँदै आयआर्जनमा जोडिनुपर्ने बताइन् ।

हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडा अध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा भएको थियो ।

समापनमा आफ्नो धारणा राख्दै प्रशिक्षार्थी लक्ष्मी तामाङले वडा कार्यालयले सिप सिक्नका लागि घर बाहिर निस्कन सक्ने अवस्था बनाएकोमा खुशी व्यक्त गरिन् । उनले तालिमले आफुहरुमा हौसला बढेको भन्दै यस्ता तालिमका कार्यक्रम थप गर्नुपर्नेमा जोड दिइन् ।