मकवानपुरका तीन जना कृषकलाई नगदसहित सम्मान

तु खबर संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १७:२२

हेटौंडा । मकवानपुरका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा थाहा नगरपालिका–७ डाँडावासका इमान सिंह थिंग, मनहरी गाउँपालिका–७ रमौलीकी मुना अर्याल र हेटौँडा–१७ का झम्कनाथ सुवेदीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।

आ.व. २०८०/०८१ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाबाट यस वर्ष ३ जनालाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।

थाहा नगरपालिका–७ स्थित डाँडावास कृषि प्रालिका इमान सिंह थिंग बाख्रा र तरकारी खेती गर्दै आएका थिए । त्यस्तै मनहरी गाउँपालिका–७ रमौली स्थित रवि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै अएकी मुना अर्यालले कागती र ड्रागन खेती गर्दै आएकी थिइन् । त्यसैगरी, हेटौंडा १७ स्थित बिबिआर एग्रो प्रालिका झम्कनाथ सुवेदीले बोयर जातको बाख्रा पालन गर्दै आएका थिए ।

पशु सेवा कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईँले पुरस्कृत कृषकहरूलाई सम्मानित गरे । मकवानपुरका विभिन्न स्थानबाट ११ वटा प्रस्ताव मध्येबाट बनाइएको मापदण्ड अनुसार उक्त तीन जना कृषकलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालयका प्रमुख डा.बज्रकिशोर ठाकुरले बताए ।