ठेकेदारलाई शहरी विकास मन्त्रालयको चावी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेकेदार सांसद धनबहादुर बुढालाई शहरी विकास मन्त्रालयको चावी सुम्पिएका छन् । नेकपा एकीकृत समाजवादीले गरेको सिफारिसका आधारमा प्रचण्डले स्वार्थ बाझिने शहरी विकास मन्त्रालयको जिम्मा बुढालाई दिएका हुन् ।
यसअघि गत ३ माघमा पनि प्रधानमन्त्री प्रचण्डले कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा राप्रपा सांसद विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा दिएका थिए । त्यतिबेला आलोचना भए पनि प्रधानमन्त्री प्रचण्डले फेरि ठेकेदार कम्पनी सञ्चालक रहेका बुढालाई सोही मन्त्रालयमा पठाएर त्यही गल्ती दोहोर्याएका हुन् ।
‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक रहेका बुढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । फागुन २०७४ देखि मंसिर २०७६ गतेसम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री भएका बुढा नेकपा एमालेबाट अलग्गिएर २०७८ मा बनेको एकीकृत समाजवादीतर्फ लागेका थिए ।
एमालेबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसाभा निर्वाचन जितेका उनी गत २०७९ मा भएको निर्वाचनमा तेस्रो पटक डोल्पाबाटै सांसद बनेका थिए ।
नेपालका मुख्य ठेकेदारको सूचीमा रहेका उनको निर्माण कम्पनी देशभरका विभिन्न निर्माण परियोजनाको दावेदार रहने गरेको छ ।
