पालले जिते हेटौंडा रनको उपाधी

तु खबर संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार ११:५७

मकवानपुर । खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधी काठमाण्डौंका मुकेश पालले जितेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधिमाथि हात पारेका हुन् ।

उनले नगद ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । १८ जिल्लामा ९२ जना प्रतिष्पर्धीलाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुडा द्धितीय भए ।

उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरे । बुडाले द्धितीय हुँदै नगर ५० हजार रुपैयाँ प्राप्त गरे । हेटौंडाको बुद्ध चौकबाट सुरु भएको दौंड पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आउने दौड प्रतियोगितामा काठमाण्डौंका सञ्जय श्रेष्ठ तृतीय भए ।

उनले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । श्रेष्ठले नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागिता जनाएका मध्ये चौथो र पाँचौँ भएका काठमाण्डौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कार स्वरुप नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा विजयी भएकाहरुलाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इँले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी ९२ मध्ये हेटौंडा–२ का ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएको थियो । पाको उमेरमा पनि खेलप्रतिको लगाब र लगनशिलताका लागि नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गरेका थिए ।