सकियो दुई दिने बकैया कला–साहित्य महोत्सव
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालीदेवी माविमा शुक्रवार र शनिवार दुई दिने बकैया कला–साहित्य महोत्सव–२०८० गरेको छ ।
आफ्नो ३१ औँ वार्षिक उत्सवका अवसरमा दुई दिने बकैया कला साहित्य महोत्सव गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । महोत्सवको पहिलो दिन शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले महोत्सवको उद्घाटन गरेका थिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शुक्रबार बकैया गाउँपालिकास्तरीय कविता प्रतियोगिता र चित्रकला प्रतियोगितासमेत गरिएको थियो । चित्रकलामा इमोन राई, सुस्मिता मोक्तान र सुदिप घलान तथा कवितामा कालीदेवी माविबाट राज भोलोनको त्याग शीर्षकको कविता, जनक माविबाट सुदिप गोङ्वा तामाङको सोझो नेता शीर्षकको कविता र महेन्द्र माविबाट कुसुम लुइटेलको मेरा बा र परदेश शीर्षकको कविता उत्कृष्ट तीन घोषित भएका थिए ।
महोत्सवको दास्रो दिन शनिवार झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको हो ।
सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद रु २१ हजार १२१ राशीसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको छ ।
यस्तै साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेको नगद रु १५ हजार ५५५ राशीसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढकाललाई प्रदान गरिएको छ ।
यस्तै, साहित्यसेवीहरु अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको नगद रु ७ हजार ७७७ राशीसहितको खडानन्द–मनमाया युवा प्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रु ७ हजार ७७७ राशसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको नगद रु ७ हजा ७७७ राशीसहितको सञ्जीवनी बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, नन्दादेवी गौतमले आफ्ना छोरा स्व.गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको नगद रु ११ हजार १११ राशीसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलन, चन्द्रकुमार राईले स्थापना गरेको नगद रु ५ हजार ५५५ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेको नगद ७ हजार ७७७ राशीसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाट बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।
