ग्याँस बिक्रेताको कमिसन बढाउन माग

तु खबर संवाददाता
२०८० फाल्गुन १२, शनिबार १७:४३

मकवानपुर । ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्र थापाले बिक्रेताको कमिसन ग्याँसको मूल्यबाट ५ प्रतिशत तोकिनुपर्ने बताएका छन् ।

आज हेटौंडा सम्पन्न ग्याँस बिक्रेता महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथिसमेत रहेका केन्द्रीय अध्यक्ष थापाले बिक्रेताको कमिसनसँगै व्यवस्थित ग्याँस बजार र डिलर प्रमाणीकरणको काम आफ्नो कार्यकालमै लागू गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘ग्यास एक संवेदनशिल वस्तु हो । यशको कारोबार व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनको लागि हाम्रो क्षेत्रमा विभिन्न सुधारहरु गर्नु जरुरी छ । विशेषगरी डिलर प्रमाणिकीकरण पनि एक हो । सबै किसिमका सुरक्षाका विधिहरु अवलम्बन गरेर मात्र ग्यास कारोबार सञ्चालन गरेको खण्डमा यसबाट हुन सक्ने सम्भावित क्षति र दुर्घटनालाई धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ । जुन हाम्रो अहिलेको आवश्यकता समेत हो ।’, केन्द्रीय अध्यक्ष थापाले भने, ’नेपालमा ग्यास कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै व्यवसायी आत्मनिर्भर समेत हुनुपर्छ भन्ने सम्बन्धमा ग्यास बिक्रेता महासंघ नेपालले लामो समय देखि प्रयाशहरु गर्दै आइरहेको छ । अझै पनि व्यवस्थित बन्न सकेको छैन । जसले गर्दा समय–समयमा दुर्घटनाहरु हुँदै आएका छन् । यद्यपि यस्ता दुर्घटना न्यूनीकरणको लागि ग्यास विक्रेता महासंघ नेपाल निरन्तर लामो समयदेखि संलग्न रहँदै आएको छ ।’

ग्याँस बिक्रेता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष बिनोदमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलाल, केन्द्रीय उपाध्यक्ष शैलेन्द्रप्रसाद रिजाल, अध्यक्ष सल्लाहकार महेश्वरप्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार अर्जुन खत्री, मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष केशव मुडभरी, निवर्तमान अध्यक्ष दिलिश गोविन्द जोशीलगायतको उपस्तिथि रहेको थियो ।