राष्ट्रपतिद्वारा शालीनदीमा पूजा अर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा उनी आज बिहान सहभागी भएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे ।
नगरपालिका एवम् काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए ।
