अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १४:००

काठमाडौँ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार राति रातोपुल क्षेत्रबाट उनीहरुको उद्धार गरेको प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकहरुमा सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, गुरुनिन्दर सिंह, आशिस कुमार र गुरप्रित सिंह रहेका छन् ।

प्रहरीका अनुसार बन्धक बनाइएकाहरुलाई स्थानीयले सोधेमा सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो । बन्धक बनाइएकाहरूलाई शारीरिक यातना समेत दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ । उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठीसमेत प्रहरीले बरामद गरेको छ ।

गिरोहले केही व्यक्तिहरूलाई दुई हप्तादेखि र केहीलाई २/३ दिन अघि मात्रै ल्याएर थुनेर राखेको खुलेको छ । बन्धक राख्न प्रयोग भएको घर गिरोहले ७५ हजार भाडामा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तस्वीरःबन्धक बनाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरिँदै

बन्धक बनाउने गिरोहलाई पक्राउ गर्न ‘अपरेशन डंकी’

अमेरिका लैजाने प्रलोभन देखाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गर्न प्रहरीले ‘अपरेशन डंकी’ चलाएको थियो । प्रहरीले एक जना नेपालीसहितको गिरोहलाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा रहेका छन् । त्यस्तै विराटनगरका मोहम्मद साविर मिया र २५ वर्षीय लक्ष्मण गिरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ ।

एक जनालाई अमेरिका पठाउन ४० देखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाइएको अनुसन्धानबाट खुलेको छ ।