मिजौरीको कन्सासमा गोली चल्दा एक जनाको मृत्यु, २९ घाइते

गिरिजा अधिकारी
२०८० फाल्गुन ३, बिहीबार १४:००
तस्वीरः गोलीकाण्ड भएको स्थल कन्सास सिटी युनियन स्टेशन

न्यूयोर्क । अमेरिकाको मिजौरीस्थित कन्सास सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोही घटनामा २० जना भन्दा बढीलाई गोली लागेको र २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार कन्सासको सुपर बाउल परेडमा गोली चलेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

घटनापश्चात राष्ट्रपति जो बाइडेनले जनताको शान्ति सुरक्षाको लागि बन्दुक नियन्त्रण आवश्यक रहेको भन्दै संसदलाई त्यसका लागि आह्वान गरेका छन् । त्यस्तै हतियारहरुमा प्रतिबन्ध लगाउन, उच्च क्षमताका म्यागजिनहरु सीमित गर्न, ह्यान्डल गर्न नसक्नेहरुको हातबाट बन्दुकहरू टाढा राख्न उनले आग्रह गरेका छन् ।

त्यस्तै उपराष्ट्रपति कमला ह्यारिसले संसदका सदस्यहरुले उचित बन्दुक सुरक्षा कानूनको साथ काम गर्ने साहस गरेमा यस्ता धेरै गोलीकाण्ड रोक्न सकिने प्रतिक्रिया दिएकी छिन् । ह्यारिसले गोलीकाण्डबाट प्रभावितका लागि आफूले प्राथना गर्नेसमेत बताइन् ।

सन् २०१३ यता १५६ को मृत्यु

अमेरिकाको मिजौरी राज्यमा मात्रै सन् २०१३ यता गोलीकाण्डमा परेर १५६ जनाको मृत्यु भएको छ । त्यस्तै ५८२ जना घाइते भएका छन् । सो अवधिमा मिजौरी राज्यमा मात्र कम्तिमा १५४ सामूहिक गोलीकाण्ड भएको प्रहरीले जनाएको छ ।