झरनाले ९ जनालाई सम्मान गर्ने

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १८:३०

हेटौंडा । झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संस्थाको ३१ औँ वार्षिक उत्सव तथा बकैया कला–साहित्य महोत्सव २०८० को अवसरमा यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानबारे जानकारी गराइएको हो ।

यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँकी डा. गीता त्रिपाठी सम्मानित हुने भएकी छिन् । उनलाई साहित्य क्षेत्रमा योगदान गरेबापत् नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

त्यसैगरी साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापना गरिएको नगद १५ हजार ५ सय ५५ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मान गरिने झरना साहित्य परिवारले जनाएको हो ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत् प्रदान गरिने मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । नगद १५ हजार ५ सय ५५ राशीको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार स्व. गौतमका माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिएका छन् । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् ।