पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउँछौँ: मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले सहिद दिवसको उपलक्ष्यमा रिपोर्टर्स क्लब मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी गराएका हुन् ।
उनले पत्रकार महासंघले पनि उक्त अभियानलाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक जनशक्ति उत्पादनको लागि विश्व विद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको सबै जिल्लामा भूगोल र मौसमी वातावरण अनुसार कृषि उत्पादनतर्फ हरियो तरकारी खेतीलाई उच्च प्राथमिकता दिएर कृषिकलाई बढीभन्दा बढी सहभागिता गराउनेतर्फ सरकारको एक सुत्रे कार्यक्रम अघि बढाउन लागिएको उल्लेख गरे ।
मुख्यमन्त्री जम्कट्टेलले सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै मुख्यमन्त्री जम्कट्टेलले सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको उपचार खर्च प्रदेश सरकारले व्यर्होने भन्दै त्यसको लागि आफुले प्रदेश सरकारसमक्ष प्रस्ताव राख्ने बताए ।
यस्तै, सो अवसमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले अहिले जनतालाई आर्थिक समृद्धि, विकासका पूर्वाधारबाट जोड्न प्रदेश सरकारले नयाँ नीति तर्जूमा गरी कार्यान्वयन गर्न लागिएको बताए ।
उनले प्रदेशमा रहेका सबै सञ्चार क्षेत्रलाई समष्तिगत रुपमा आत्मसम्मानका साथ विभिन्न अवसर जुटाउन प्रदेश सरकारले नीतिगत कार्यक्रम र बजेट तर्जुमा गरेको बताउँदै पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्र्बद्धनको लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए ।
यस्तै, सो अवसरमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेस जगतलाई संगठित मर्यादित र अनुशासित रुपमा अगाडि बढाउन सबै पत्रकारहरुले आफ्नो बानिव्यहोरामा सुर्धानु पर्ने बताए । साथै उनले सरकारले पनि संचारगृहहरुलाई लोकतान्त्रिक विज्ञापन निष्पक्ष ढंगबाट उपलब्ध गराउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्न अनुरोध गरे ।
सो अवसरमा बागमती प्रदेशका संचार रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ बागमतीका पूर्व अध्यक्ष प्रताव विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् रिपोर्टर्स क्लव मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रिपोर्टर्स क्लव मकवानपुरका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा भएको हो ।
