आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार ०८:५६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज तराईका अधिकांश स्थानहरूमा भने हुस्सु/कुहिरो लाग्नेछ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।