पूर्व राजा ज्ञानेन्द्र शाहले माघ ७ गते हेटौंडामा सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा माघ ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् ।
धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।
रिपोर्टर्स क्लब मकवानपुरको समन्वयमा आज भएको पत्रकार सम्मेलनमा राजा ज्ञानेन्द्र आउने कार्यतालिकाबारे जानकारी गराइएको हो ।
पूर्व राजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने आयोजक मूल समारोह समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार सोही दिन दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआराधना, २ः३० बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आराधनासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रमी, बुद्धिजिवी, व्यवसायीहरुलगायतसँग भेटघाट गरी सोहि दिन हेटौंडाबाट फर्किने कार्यतालिका रहेको छ ।
कार्यक्रममा पार्टिको नभई नेपालको राष्ट्रिय झण्डा बोकिने उनले बताए । ‘हामीले पूर्व राजा ज्ञानेन्द्रलाई अभिभावक मानेका छौं । देशैभर जनतासँग उहाँको प्रत्यक्ष भेटघाट कार्यक्रम भइरहेको बेला मकवानपुरमा पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुनेमा हामी विश्वस्त छौं।’ सिहंले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ७ गते हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, पूर्व अध्यक्ष हरि हुमागाईँ, राप्रपा केन्द्रीय सदस्य रामहरि न्यौपाने, सचिव गुञ्जबहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुव प्रसाद सञ्जेल, राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव सरस्वती थिङ्लगायतको उपस्थिति थियो ।

