राष्ट्रियसभा निर्वाचनः बागमतीमा ४ पदका लागि १६ जनाको उम्मेदवारी
मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बागमती प्रदेश क्लस्टरको राष्ट्रिय सभा सदस्यको ४ पदको लागि गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १६ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा, रोजकुमारी चौलागाईँले पनि आजै मनोनयन दर्ता गराएका छन् ।
राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
