हेटौंडा साकोसले २५ औँ स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले २५ औं वार्षिक उत्सवको अवसर पारी विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत् सो विषयमा जानकारी गराइएको हो । संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले शुक्रबारबाट सुरु हुने विभिन्न कार्यक्रम १३ गते समापन गरिने बताए ।
संस्थाका सप्ताहव्यापी कार्यक्रमहरु आजै संस्थाको सभाहलमा समिति, उपसमितिको संयुक्त बैठक बसिने भएको छ भने आइतबार ८ गते संस्थाकै हलमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताए ।
त्यस्तै, ९ गते बाल कार्यक्रम तथा वनभोज, ११ गते बृहत रक्तदान, १२ गते म्युजिकल चियर प्रतियोगिता, घ्याम्पो फुटाई र सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता हुने जनाइएको छ ।
१३ गते स्लो बाईक/स्कुटर प्रतियोगिता, पाँच सय मिटर महिला/पुरुष दौड, फुटबलको फाइनल प्रतियोगिता, पुरस्कार वितरण र साँझमा दीप प्रज्वलन, मिठाई वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन रहेको जनाइएको छ ।
कार्यक्रमहरु सार्वजनिकपश्चात् आजै सहकारीका संस्थापकहरुलाई नगद सहित सम्मान गरिएको थियो । २०५६ सालमा स्थापना भएको सहकारी २६ जना सदस्य भएर दर्ता गरिएको थियो ।
संस्थामा महिला पुरुष गरी ६ हजार ९३१ शेयर सदस्य रहेका छन् भने २ हजार १२४ जनालाई कर्जा लगानी गरिएको जनाइएको छ । संस्थाको मंसिर मसान्त सम्ममा शेयरपुजीँ ४ करोड ३६ लाख ९४ हजार २ सय रहेको छ भने जगेडा कोषमा तीन करोड ८० लाख ७० हजार ६८२ रहेको छ ।
संस्थाको बचत निक्षेप ५० करोड ९७ लाख ८७ हजार ९७२ रहेको र कर्जा लगानी ५७ करोड ३२ लाख १५ हजार १०९ रहेको जनाइएको छ ।
