अबको केही दिन मौसम बदली, देशका विभिन्न स्थानमा भारी वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ ।
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।
यसले देशका विभिन्न स्थानमा केही दिन भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
