संविधान दिवसमा प्रदेश प्रमुख शर्माको मन्तव्य (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०८० आश्विन ३, बुधबार ११:१९

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको संघीयता, धर्म निरपेक्षा र समाजवादमार्फत जनताको आर्थिक समुन्नती, विकासको पूर्वाधार र मौलिक हकको सम्बद्र्वन गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहनुपर्ने बताएका छन् ।

संविधान दिवस एवम् राष्ट्रिय संविधान दिवस मूल समारोह समिति बागमती प्रदेश हेटौंडाद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले मुलुकको संविधानलाई सबै जनप्रतिनिधि, संवैधानिक निकाय, नेपाली जनताले आफ्नो स्वामित्व ग्रहण गरिसकेको हुँदा यदाकदा देखिने विरोधबाट कुनै परिवर्तन नहुने विश्वास व्यक्त गरे ।

संविधान दिवसको दिन आज हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख शर्माको मन्तव्यः हेर्नुहोस् पूर्णपाठ

 

  • हामी सबैको मानसपटलमा ताजै छ–नेपाली जनताको लामो संघर्षको पृष्ठभूमिमा अदम्य साहस, अविस्मरणीय बलिदान र अकल्पनीय त्यागको राप र तापमा संविधानसभा निर्वाचनको आधारभूमि तयार भएको हो । त्यही संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधीहरूले विद्यमान संविधान निर्माण गरेका हुन् । यसरी निर्मित संविधान जारी भएको आजको ऐतिहासिक दिन, अर्था्त असोज ३ गतेलाई हामी हर्षोल्लासपूर्ण वातावरणमा संविधान दिवस मनाई रहेका छौं ।

  • सर्वप्रथम नेपालीहरूको त्याग र बलिदानको अमरगाथा बोकेको यो गौरवपूर्ण दिनको सुखद् अवसरमा समस्त देशबासी दाजु–भाई, दिदिबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । र साथै, अविस्मरणीय योद्घाहरुका स्वर्णिम सपनाको भावभूमिमा उठेका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर शहीदहरूप्रति अन्तरहृदयको गहिराइबाट उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

  • हाम्रा सामु संविधान नै भएपछि यसमा सन्निहित विशेषताको वर्णन गरिरहनु सान्दर्भिक नहोला । यसर्थ, संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो । संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विष वमन विरोधाभाषपूर्ण विषय हुन् । अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो । यस्तो सुशासनमा करप्सनको कोरले विभत्स अनुहारलाई करेन्सीको कस्मेटिक सर्जरीद्वारा दिइएको आकर्षणप्रति विकर्षणको तीब्र वेग हुनुपर्छ । हाम्रो संविधानले परिकल्पना गरेको यस्तै सुशासन हो । आजको दिन हामी सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुनेछ । हाम्रो संविधानले समाजवादको सुखद् परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको छ ।

  • यो संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको छ र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको छ । यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरिदिएको छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहद् राष्ट्रिय एकताको सुत्रमा हजारौं फूलहरुको एउटै मालाको रुपमा गुथेर राखेको छ । यस सन्दर्भमा संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यो संविधानले उपलब्ध गराएका नेपाली जनताका नीधि हुन् र भावी पुस्ताका धरोहर पनि

  • यो संविधानको लचकताको प्राङ्गणमा उभिएर यसैमाथि प्रहार हुने जमर्को हुन लागेको आभाष हुन थालेको छ । हाम्रो समाजका बोधविक्रम अधिकारीको दन्त्य कथाका पाठकहरु स्मसानको नलिहाडलाई तान्त्रिक विधिद्धारा प्राण प्रतिष्ठा गर्ने कसरतमा लागेका छन् भन्ने झिनो स्वरमा चर्चा सुनिन थालेका छन् । तर हाम्रो समाज र हामी नेपाली विधिले व्यवस्थित गरेको सिद्धान्त र विचारको जगमा उभिएर सहभागितामूलक विकासका लागि उपलब्ध श्रोत साधनहरुको समुचित उपयोग गर्दैै वान्छित उदेश्य प्राप्तिका लागि अनवरण प्रयत्नरत छौ । न्याय र समानताको आधारमा प्राप्त उपलब्धिको संरक्षण–प्रर्वद्घन गर्दै थप उपलब्धिका लागि कृयाशील रहने र ती उपलव्धीहरुको न्यायोचित वितरण गर्दै समतामुलक समाजको आधारमा शोषणरहित समाजको निर्माण गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवम् समुन्नत पार्दै समाजवादतर्फ लक्षित गर्ने उद्देश्य यो संविधानले निर्देशक शिद्धान्तको रुपमा अङ्गीकार गरेको छ ।

  •  त्यसैगरी सहिष्णुतामा आधारित सामाजिक, सांस्कृतिक मूल्यहरुको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य रहने विषयलाई समेत संविधानमा समेटिएको छ ।

  •  सविधानको उद्देश्य अनुरुप यस प्रदेशभित्र रहेका स्रोत र साधनहरुको अधिकतम् उपयोग गरी जनताको जीवनस्तरमा परिवर्तनको अनुभुती हुने काम गर्न प्रदेश सरकार सक्षम हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

  • यस मन्तव्यको अन्त्यमा, संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः एकपटक संविधान दिवस २०८० को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  • धन्यवाद ।

मिति २०८० आश्विन ३ गते बुधवार