बागमतीका नवनियुक्त प्रदेश प्रमुखले आज पदभार ग्रहण गर्दै

तु खबर संवाददाता
२०८१ श्रावण १८,शुक्रबार ०९:४५

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त प्रदेश प्रमुख देवकोटाले आज पदभार ग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार, आज दिउँसो १ बजे हुने एक कार्यक्रमबीच उनले पदभार ग्रहण गर्नेछन् ।

बुधबार प्रदेश प्रमुखमा नियुक्त भएका उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

बागमती प्रदेशमा यसअघि यादवचन्द्र शर्मा प्रदेश प्रमुख थिए । शर्मा नेकपा माओवादी नेतृत्वको सरकार हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।