बकैयामा साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक लगाउने भएको छ ।
गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न लागूऔषधसहित सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
जारी सूचनामा भनिएको छ,‘लागूपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानूनद्वारा निषेधित र नियन्त्रित लागूपदार्थहरु जस्तो गाँजा, चरेश, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागूपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने लागुपदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागुपदार्य, मदिराजन्य लागुपदार्थ (जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार लगायत) र सुर्तीजन्य लागूपदार्थहरु मिति २०८० साउन १ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएकोले आम बकैयावासीहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
साथै उक्त सूचनाको वेवास्ता गरी माथि उल्लेख भए अनुसारको लागूपदार्थको प्रयोग भएको पाईएमा उल्लेखित सामाग्रीहरु जफत गरी कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गराइएको छ ।
