अब दुई पटक भन्दा बढी समानुपातिक सांसद बन्न नपाइने

तु खबर संवाददाता
२०८० असार १८, सोमबार १८:०८

काठमाडौं । अब दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा दुई पटक समानुपातिक सांसद बनेको व्यक्ति तेस्रो पटक समानुपातिक निर्वाचनको उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।

बैठकले एकीकृत निर्वाचन कानूनको मस्यौंदा पारित गरी निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौंदामा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नपाउने व्यवस्था गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै, आयोगले कानूनमा ‘नो भोट’, विदेशमा रहेका नागरिकलाई मताधिकार, निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारलगायतका नयाँ प्रावधान समेटेको छ ।

आयोगको नयाँ मस्यौंदामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था गरेको छ ।