प्रतिपक्षको नाराबाजीपछि बागमती प्रदेश सभा स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक साढे ५ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले नाराबाजी गरेसँगै सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथिको छलफल गर्न आज अपराह्न २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा २ घण्टा ढिलो गरी ४ बजेपछि बसेको थियो ।
उक्त बैठकमा प्रतिपक्ष दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सुरेन्द्रराज गोरसाईँले आफ्नो दलको तर्फबाट बजेटमाथि भएको विभिन्न त्रुटि र असन्तुष्टि बारे केही भनाईहरु राखेका थिए ।
सांसद गोरसाईँले आफ्नो भनाई राखेर फर्किएसँगै सभामुख पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेश सभाका सदस्यको नाम रोष्टममा बोलाएका थिए । सो क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले वयल घेराउ गरी नाराबाजी गरे ।
सभामुख पाठकले पटक–पटक उनीहरुलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरेपनि उनीहरुले नारा लगाउन नछोडेपछि प्रदेश सभाको बैठक आजै अपराह्न साढे ५ बजेसम्मका लागि स्थगित गरे ।
