आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
विराटनगर । नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले सोमबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट उनले वंशजको आधारमा नागरिकता पाएका हुन् । निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे ।
नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरू शरदकुमार पोखरेल र प्रदीप साह उपस्थित थिए ।
नागरिकता लिन बुवा किसुनदेव कामतलाई लिएर निरज प्रशासन पुगेका थिए । आवश्यक कागजात पेस गरेपछि प्रक्रिया पूरा गरेर उनलाई नागरिकता दिएको जनाइएको छ ।
नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
