बागमती प्रदेश सभाको अर्को बैठक असार १२ गते बस्ने

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १८:४९

मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा  गर्दै सो बारे जानकारी गराएको हो ।

बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

मन्त्री लामाले प्रदेश सरकारको आगामी आवको कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।

यस्तै, प्रदेश सभाको आजै अपराह्न बसेको दोस्रो बैठकमा मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको प्रति टेबुल गरेका थिए । सोही बैठकमा उनले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० को पनि टेबुल गरेका थिए ।

यसैगरी, उनले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्मको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए भने मध्यकालिन खर्च संरचना आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको विवरण प्रस्तुत गरेका थिए ।

प्रदेश सभाको यही असार १२ गते बस्ने बैठकमा आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।