निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार १७:३८

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकालाई सर्वदलीय बैठक बोलाउने निर्णय गरेको छ ।

आयोगका पदाधिकारीहरूको बुधवार बसेको बैठकले यही जेठ २६ गते बिहान साढे ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाउने निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार, सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेण्डा तय गरिएको छ । सर्वदलीय बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजीबारे, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली सङ्कलन गर्ने विषयमा छलफल हुनेछ ।

यस्तै, विदेशमा रहेका नेपालीहरूको प्रारम्भिक मतादाता नामावली सङ्कलन प्रारम्भ गर्ने विषय र राजनीतिक दलले पेस गरेको लेखा तथा लेखा परीक्षण गरी ५ वटा विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको प्रमुख आयुक्त थपलियाले बताए ।

यसैबीच निर्वाचन आयोगले बजेटमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले प्रधानमन्त्रीको समय समेत माग गरेको छ ।