बागमती प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८० जेष्ठ १७, बुधबार ०९:०७

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बुधबार बस्दैछ । बैठक आज अपराह्न १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्मकट्टेलले संसदमा टेबुल गरेका थिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद रहेका छन् ।