कांग्रेसका युवा नेताहरूले सातै प्रदेशमा भेलाको आयोजना गर्ने

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार ०८:२४

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन् । भक्तपुरको कौशलटारमा आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले सातै प्रदेशमा भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।

आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित कर्णले जानकारी दिए । कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको उनले बताए ।

कर्णका अनुसार अभियानअन्तर्गत कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिने छ । भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको उनले जानकारी दिए । जसमध्ये कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसे, लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको उनले बताए ।