उप–निर्वाचन : तीनवटै क्षेत्रमा मतदान समय सकियो
काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तीन वटै क्षेत्रमा मतदान समय सकिएको छ । चितवन–२, बारा–२ र तनहुँ १ को उप–निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।
उनका अनुसार, चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ । यकिन तथ्याङ्क आउँन बाँकी छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै, तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा ती सबै क्षेत्रमा आज उप–निर्वाचन भएको हो ।
