एएचएफद्वारा सरोकारवालाहरुसँग छलफल
मकवानपुर । एचआइभी एड्सको निराकरणका लागि सहयोग पुर्याउँदै आएकोे अन्तर्राष्ट्रिय सामाजिक संस्था एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) ले सरोकारवालाहरुसँग छलफल गरेको छ ।
सो संस्थाले शुक्रबार हेटौंडामा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, मेडिकल व्यवसायी तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।
सो अवसरमा एएचएफ नेपाल बागमती प्रदेशका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआइभी रोगको रोकथाम, उपचार तथा सचेतना बृद्धि गर्ने कार्यलाई एएचएफ नेपालले निरन्तरता दिइरहेको उल्लेख गरे ।
उनले एएचएफबाट एचआइभी परीक्षण गर्ने, संक्रमण हुनबाट रोक्नका लागि कन्डमको प्रर्वद्धन तथा सचेतनामुलक कार्यक्रम संचालन गर्ने, संक्रमित भइसकेकाहरुको उपचार तथा पोषिलो खानेकुरा र औषधि उपलब्ध गराउने र आवश्यक परामर्श सेवा उपलब्ध गराउने कार्य गर्दै आएको जानकारी दिए ।
छलफलका क्रममा धारणा राख्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठले एचआइभी संक्रमितको उपचार प्रभावकारी र सेवाग्राही मैत्री भएको भन्दै प्रशंसा गरे । आगामी दिनमा एएचएफको सेवा जनमानसमा प्रभावकारी रुपमा पुर्याउन स्वास्थ्य निर्देशनालयबाट पनि सहयोग उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पछिल्ला दिनमा एचआइभी संक्रमित खुल्दै गएको र उनीहरुनै सचेतना अभिवृद्धिमा लागेको बताए । समाजमा एचआइभीबाट पनि बच्न सकिन्छ भन्ने सन्देश दिनुपर्ने भन्दै अभिमुखिकरण र सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई थियो ।
संस्थाले हेटौंडा, भरतपुरसहित ५ वटा स्थानका अस्पतालमार्फत् सेवा प्रवाह गरिरहेको संस्थाका अमृत विक्रम राइले बताए । सामाजिक स्वास्थ्य बीमा कार्यक्रमले समेट्न नसकेका विरामीहरुलाई पनि एएचएफले समेटेको उनले बताए ।
