उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

तु खबर संवाददाता
२०७९ चैत्र २१, मंगलवार ०८:०४

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, सोमबार मनोनयन दर्ताविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उजुरीउपर चैत्र २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत्र २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उप–निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ ।